नेपाल ज्योति फागुन२९- गत शुक्रबार युट्युबमार्फत् सार्वजनिक भएको गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ ले सबैलाई एकपटक फेरी सोच्न बाध्यहुने गरी हल्लाएको छ ।
गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै ५ लाखभन्दा बढीले हेरिसकेका छन्। माओवादीकालमा सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले पाएको सास्तीमा कथा आधारित छ । द्वन्द्व सकिएपछि घाइते भएका , बेरोजगार भएका हरुकको स्थिति कस्तो छ ? कति सास्ति पाइरहेका छन् भन्ने बारे गितले यथार्थ चित्रण गरेको छ ।
गीत सार्वजनिक भएपछि युट्युब तथा सामाजिक सन्जालमा यसले चर्चा कमाइरहेको छ। केहीले यसले राम्रो कथा उठाएको भनेर प्रशंसा गरेका छन् भने केहीले एकतर्फी कथा भनेको भन्दै गायक सपुतको विरोध गरेका छन्।
चुनाव नजिकिएको बेला माओवादी पार्टीको विरोध गरेको भनेर केहीले यसको विरोध गरेका हुन् भने केहीले भने यसले राम्रो कथा तथा सामाजिक अवस्थाको उत्कृष्ट प्रस्तुति गरेको भन्दै प्रंशसा गरेका छन्।
माओवादी सशस्त्र द्वन्द्वमा सहभागी माओवादी लडाकुहरू द्वन्द्वपछि कस्तो स्थितिमा छन् भनेर पिरमा देखाउन खोजिएको छ।भिडिओमा एउटा सशस्त्र द्वन्द्वमा सहभागी लडाकुका एक जोडी देशमा काम गर्न नसकेर विदेश जान बाध्य परेको र विदेशमा बन्धक बनेको कथाले देखाएको छ।
भिडिओमा प्रकाश सपुतसँगै नायिका सुरक्षा पन्त देखिएकी छन्।
आरन प्रोडक्सनले उत्पादन गरेको गीतमा प्रकाश सपुतको आवाज छ भने सम्झना भण्डारीले पनि स्वर भरेकी छन्।
गीतमा प्रकाश सपुतको नै शब्द र संगीत रहेको छ।
भिडिओको कथा तथा निर्देशन पनि गायक प्रकाश सपुतले गरेका छन्।