यसवर्ष उखु उत्पादनमा कमी! बजारमा चिनीको अभावहुने संभावना …..

  • प्रकाशित मिति : March 20, 2022
  • -सरु आचार्य

नेपाल ज्योति, चैत६- बजारमा दैनिक भान्सामा प्रयोग हुने तेलको भाउ बढे लगतै चिनीको पनि भाउ बढ्ने संभावना देखिएको छ ।यस वर्ष रौतहटमा उखु उत्पादनमा कमि भएको हुनाले संभावना बड्न गएको हो ।पहिलाको तुलानामा ऊखुको ऊत्पादन आधानै घटेको किसानहरुले बताएका छन् । उखुको रकम भुक्तानीमा ढिलाइ र चिनी मिलनै बन्द भएपछि यहाँका किसानले उखु खेती छोडेपछि उत्पादन घटन गएको हो ।सरकारले ध्यान नदिनेहो भने चिनीको अभाव सिर्जनाहुने किसानको भनाई छ ।

रौतहटको मध्यभागमा रहेको श्रीराम सुगर मिल्स गत वर्षदेखि बन्द छ । अर्को कटहरिया नगरपालिकामा रहेको बाबा बैजुनाथ चिनी मिल भने गत वर्ष देखिनै सञ्चालनमा छ तर उखु उत्पादन घटेको कारण मिलको लक्ष्य पूरा हुन सकेको छैन ।

२० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको बैजुनाथ चिनी मिलले यस वर्ष छ लाख क्विन्टलको हाराहारीमा क्रसिङ गरेको मिलका सञ्चालक बैजुबाबराले बताउनुभयो । उखु अभावका कारण मिल सिजन अवधिभर नचलेपछि लक्ष्य पूरा हुन नसक्दा घाटा बेहोर्नुपरेको उहाँको गुनासो छ ।

जिल्लामा बर्सेनि ११÷१२ हजार बिघामा उखु उत्पादन हुँदै आएको जानकारी दिनुहुँदै उखु उत्पादक सङ्घ रौतहटका सचिव सफिन्द्र यादवले यस वर्ष पाँच÷छ हजार बिघामा मात्र उखु खेती भएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “विगतका वर्षको तुलनामा यस वर्ष आधा नै घटेको छ तर बैजुनाथ चिनी मिलको प्रभावकारी भुक्तानी पक्ष एवं उखु उत्पादनतर्फ किसानलाई अग्रसर गराउन गरेको गतिविधिले भने आउँदो वर्षमा उत्पादन बढ्ने पक्का छ । ”

गरुडास्थित श्रीराम सुगर मिल्सले किसानको ३८ करोड रुपियाँ बक्यौता रकममध्ये ३५ करोड रुपियाँ मात्रै भुक्तान गरेको छ । मिल बन्द भएपछि हाल मिलको प्रशासनिक सेवासमेत बन्द भएकाले किसानले बाँकी तीन करोड रुपियाँ भुक्तानी पाउन नसकेको उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोक यादवले जानकारी दिनुभयो ।उहाँका अनुसार मिल पुनः सञ्चालनमा आउने सम्भावना बढेको र किसानका बक्यौता रकमसमेत पूर्ण रूपमा चुक्ता हुने विस्वास छ ।