अमेरिकाले गर्यो युक्रेनका शरणार्थीलाई आश्रय दिने घोषणा…..

युक्रेनलाई थप १ अर्ब अ‍ेमरिकी डलरभन्दा धेरै बढी रकम बराबरको मानवीय सहयोग उपलब्ध गराउने

  • प्रकाशित मिति : March 25, 2022
  • -सरु आचार्य

नेपाल ज्योति, चैत्र ११- अमेरिकाले रुसबाट भागेर आउनेबाहेक युक्रेनका एकलाख शरणार्थीलाई आश्रय दिने भएको छ । ह्वाइट हाउसले बिहीबार युक्रेनलाई थप १ अर्ब अ‍ेमरिकी डलरभन्दा धेरै बढी रकम बराबरको मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

सो रकम खाद्यान्न, आश्रय, स्वच्छ पिउने पानी, औषधि उपचार र अन्य विभिन्न सहयोगका लागि खर्च गरिनेछ । तर, आफ्ना घर र परिवारसँग नजिक रहने कारण अधिकांश युक्रेनी शरणार्थीहरू युरोपमै रहन चाहन्छन् ।

बाइडेन सरकारले अमेरिकामा आफ्ना परिवाका सदस्यहरू रहेका युक्रेनीहरूका लागि स्वागत गर्ने उद्देश्यले नयाँ कार्यक्रहरूको विकास र विस्तार गरिरहेको छ । रुसले युक्रेनमा आक्रमण गरेको एक महिना पुगेकाबेला बाइडेनले युक्रेनलाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को सहयोग वृद्धि गर्ने निर्णय गरेकैबेला शराणार्थी सम्बन्धि यो घोषणा भएको हो ।

बेल्जियमको ब्रसेल्समा बसेको नेटोको आपतकालीन बैठकपछि बाइडेनले भनेका छन्, “हामी यस क्रुर युद्धका लागि रुसलाई जिम्मेवार ठहराउन कटिवद्ध छौं । हामीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कुरा प्रत्यक्ष सुन्ने अवसर पायौं ।  हामी उनी र उनको सरकारलाई रुसी आक्रमणविरुद्ध लड्न तथा आफ्नो प्रतिरक्षा गर्ने अधिकारलाई सहयोग पुर्याउन थप र महत्त्वपूर्ण परिमाणमा सुरक्षा सहयोग निरन्तर उपलब्ध गराउने छौं ।”

बाइडेनले भनेका छन्, “अमेरिकाले उपलब्ध गराएको १ अर्ब डलर युक्रेनलाई थप सुरक्षा उपकरण र हवाई प्रतिरक्षा प्रणालीमा खर्च गरिनेछ । स्लोभाकिया, रोमानिया, बुल्गेरियार हंगेरीमा चार नयाँ युद्ध समूह स्थापना गरिनुबाट नेटोले रुसलाई नेटोको भू–भागको प्रत्येक इन्चको प्रतिरक्षा गर्दछ भन्ने कडा संकेत दिएको छ ।”

यसैगरी बिहीरबार रुसमाथि थप नाकावन्दीको घोषणा गरिएको छ । ग्रुप अफ सेभेनका नेताहरूले रुसको केन्द्रीय बैंकलाई आर्थिक कारोबारमा सुनको प्रयोग माथि रोक लगाउने घोषणा गरेका छन् । अमेरिकाले प्रतिरक्षा कम्पनीहरु, रुसको सबैभन्दा ठूलो बैंकका अध्यक्ष र रुसी स्टेट डुमाका तीन सयभन्दा धेरै सदस्यमाथि नाकावन्दी लगाउने घोषणा गरेको छ ।

नेटो बैठकलाई भिडियो सम्बोधन गर्दै जेलेन्स्कीले थप सैनिक सहयोग प्रदान गर्न आग्रह गरेका छन् ।