लकडाउनमा पढाइ पुरा नगरी चीनबट फर्किने विद्यार्थीहरुलाई चिन फर्काउने नेपाल सरकारको पहल

  • प्रकाशित मिति : April 4, 2022
  • -सरु आचार्य

नेपाल ज्योति चैत २१— सरकारले कोभिड महामारीका बेला नेपाल फर्केपछि अध्ययन अधुरो रहेका चिकित्सा शिक्षा र इन्जिनिरिङका विद्यार्थीलाई बाँकी पढाइ पूरा गर्न चीन फर्काउन पहल थालेको छ । चीनबाट फर्केका करिब ५ सय विद्यार्थी इन्टर्नसिपलगायत बाँकी कोर्स पूरा गर्न नपाएर अलपत्र परेका छन् ।

चीन प्रवेशमा रोक लगाइएकाले विद्यार्थी सम्बन्धित विश्वविद्यालय र शिक्षण संस्थामा फर्कन नपाएका हुन् । पहिलो चरणमा चिकित्सा शिक्षाका विद्यार्थीलाई फर्काउन तयारी भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ । गत साता चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा विद्यार्थीका समस्याबारे कुरा उठेको थियो । परराष्ट्र मन्त्रालय र विदेशमन्त्रीको भ्रमण टोलीबीच विद्यार्थीको समस्या प्राथमिकताका आधारमा समाधान गर्ने सम्झौता भएको थियो ।

परराष्ट्र मन्त्रालयको सहमतिपछि शिक्षा मन्त्रालयले अलपत्र परेका विद्यार्थीलाई चीन फिर्ता पठाउन प्रक्रिया थालेको हो । शिक्षा मन्त्रालयका सचिव यादव कोइरालाले चिनियाँ अधिकारीसँग पहिलो चरणमा कुराकानी भएपछि समस्यामा परेका विद्यार्थीको तथ्यांक संकलनको काम थालिएको जानकारी दिए । ‘पहिलो चरणमा कुराकानी भएपछि कति विद्यार्थीले अध्ययन पूरा गर्न पाएका छैनन् भनेर डाटा लिन थालेका छौं,’ उनले भने, ‘संख्या यकिन भएपछि फेरि कुराकानी गरेर टुंगो लगाउँछौं ।’

चिनियाँ दूतावास र शिक्षा मन्त्रालयसँग कुराकानी गरेर विद्यार्थीलाई चीन फर्काउने मोडालिटी टुंगो लगाउने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जनाए । ‘विदेशमन्त्रीको भ्रमणका क्रममा विद्यार्थीका समस्या उठाएका थियौं,’ उनले भने, ‘चीन विद्यार्थीलाई अध्ययन पूरा गराउन लैजाने कुरामा सकारात्मक भएपछि विभिन्न चरणमा दूतावास र शिक्षा मन्त्रालयसँग छलफल भइरहेको छ ।’ शिक्षा मन्त्रालयले छलफलका क्रममा चार्टर फ्लाइटबाट मेडिकलका विद्यार्थीलाई चीन फर्काउने प्रस्ताव राखेको छ । एमबीबीएस, बीडीएस, एमडी अध्ययन गर्न चीन पुगेका विद्यार्थी कोरोनाका कारण बीचमै स्वेदश फर्केका थिए । उनीहरू पुनः चीन फर्कन पाएका छैनन् ।