न्याय माग्न गएकी उनलाई उल्टै अदालतले सुनायो ३ वर्ष ६ महिना जेल सजाय फैसला तेसपछी…………..

  • प्रकाशित मिति : April 4, 2022
  • -सरु आचार्य

नेपाल ज्योति चैत२१— बलात्कार मुद्दामा न्याय माग्न जिल्ला अदालत पुगेकी कमलबजारकी किशोरीलाई गत आइतबार ३ वर्ष ६ महिना जेल सजाय फैसला भएको मुद्दा पुनरावेदनका लागि उच्च अदालत दिपायल लैजाने तयारी भएको छ । सरकारी वकिल कार्यालयले किशोरीको विपक्षमा भएको फैसलाको पुनरावेदनका लागि सोमबार उच्च अदालत दिपायलमा पुनरावेदन प्रस्ताव राख्ने भएको छ । उच्च अदालतले पुनरावेदन प्रस्तावसहित घटनाको फाइल मगाएपछि मुद्दा प्रक्रियामा जानेछ । यही साताभित्र उच्च अदालत दिपायलमा पुनरावेदन दर्ता हुने जिल्ला सहायक न्यायाधिवक्ता कौशल ढुंगानाले बताए ।

‘हामी समग्र फैसला न्यायोचित नभएको भन्दै उच्च अदालत दिपायलमा पुनरावेदन गर्छौं तर ती किशोरीलाई सुनाइएको सजायको सन्दर्भमा पीडितले नै वकिल राखेर पुनरावेदनमा निवेदन दिनुपर्छ,’ ढुंगानाले भने, ‘आफैंमाथि भएको घटनामा विभिन्न प्रलोभनमा परी झूटो आरोप लगाएको हुँ भन्दै किशोरीले नै अदालतमा बकपत्र गरेको देखिन्छ । के कारण यस्तो भयो भनी पीडित आफैंले वकिलमार्फत जाँदा वास्तविक न्याय पाउन सक्छिन् ।’

एकल वृद्ध आमाको संरक्षणमा रहेकी ती किशोरीको भने आफैंले वकिल राखेर कानुनी प्रक्रियामा जान सक्ने अवस्था छैन । ‘आफैंले वकिल राख्न हामीसँग पैसा छैन, हाम्रो पक्षमा बोलिदिने मान्छे पनि छैन,’ सुरक्षित आवासगृह मंगलसेनमा बसिरहेकी ती किशोरीले भनिन्, ‘अब कहाँको अदालत जाने हो, के गर्ने हो, मलाई केही पनि थाहा छैन ।’

न्याय माग्न जिल्ला अदालत गएकी आफ्नै नगरपालिकाकी किशोरीलाई उल्टै सजाय भएको फैसला न्यायसंगत नभएको कमलबजार नगरपालिकाकी न्यायिक समिति संयोजक एवं उपप्रमुख भूमिशरण ढकालले बताइन् । ‘घटनाबारे अलिअलि जानकारी पाएकी थिएँ, त्यसपछि आफ्नै काममा व्यस्त भएका कारण धेरै जानकारी लिन सकिनँ,’ उनले भनिन्, ‘किशोरीको मुद्दाका लागि उच्च अदालतमा बहस गर्न नगरपालिकाले वकिल राख्न सक्ने अवस्था गाह्रो नै छ । सामान्य आर्थिक सहयोग गर्न सकिन्छ । धेरै ठूलो खर्च गर्नका लागि म अहिले बोल्न सक्दिनँ । त्यही पनि म टिममा सल्लाह गर्छु ।’

ती किशोरीले घटनापछि बयानका क्रममा प्रहरी, सरकारी वकिल कार्यालयसम्म आइपुग्दा एक खालको बयान गरेको देखिन्छ भने अदालतमा झूटो आरोप लगाएको बकपत्र छ । तर, अदालतले सजायको फैसला सुनाएपछि विरक्त अवस्थामा भेटिएकी किशोरीले सञ्चारमाध्यमसँग केही नयाँ घटनाक्रम पनि सुनाएकी छन् । घटनाको क्रममा किशोरी र उनका साक्षीले दिएको बयान पनि मिलेको छैन ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ मा अनुसार एकपटक बकपत्र गरिसकेको साक्षीबाट पुनः कुनै कुरा बुझ्न सकिने छैन । तर त्यस्तो साक्षीबाट नबुझी नहुने कुनै कुरा न्यायाधीशले कारण खुलाई गरेमा पुनः समाह्वान जारी गरी बुझ्न सकिने व्यवस्था छ । जिल्ला सहायक न्यायाधिवक्ता ढुंगाना भन्छन्, ‘पुनरावेदनका लागि उच्च अदालतमा मुद्दा गइसकेपछि न्यायाधीशले आवश्यक ठानेमा मात्र उल्लेखित बुँदा आकर्षित हुन्छ ।’