पुटिनले भने हामिलाई सहयोग नगर्ने मुलुकका नागरिकलाई हाम्रो देशमा प्रवेश दिने छैनौ

  • प्रकाशित मिति : April 5, 2022
  • -सरु आचार्य

नेपाल ज्योति चैत २२- रुसी राष्ट्रपति पुटिनले सोमबार मस्कोको नजरमा मैत्रीपूर्ण ठहर नभएका मुलुकहरूका नागरिकलाई भिसा जारी नगर्नेबारेको आदेश पत्रमा हस्ताक्षर गरेका छन् । युक्रेनमा आक्रमण गरेको निहुँमा रुसमाथि अमेरिका, क्यानाडा र बेलायत लगायत युरोपेली मुलुकहरूले आर्थिक प्रतिबन्ध लगाएको प्रत्युत्तरमा रुसले यो कदम चालेको हो ।

सोमबारदेखि नै लागु हुने सो आदेशपत्रअनुसार रुसले नर्वे, स्विट्जरल्यान्ड, डेनमार्क र आइसल्यान्डलगायत केही युरोपेली राष्ट्रका नागरिकलाई भिसा जारी नगर्ने भएको छ । साथै यस आदेश पत्रले रुसी विदेश मन्त्रालयलाई रुसविरुद्ध शत्रुतापूर्ण व्यवहार गर्ने विदेशी व्यक्ति विशेष तथा त्यस्त मुलुकका कानुनी निकायहरूलाई रुस प्रवेश गर्नबाट रोक्न निर्देशन दिएको छ ।

गत महिना रुसी सरकारले मैत्रीपर्णू नरहेका मुलुकहरूको सूची सार्वजनिक गरेको थियो । त्यसमा अमेरिका, क्यानडा, बेलायत, युरोपेली संघका मुलुकहरू र युक्रेन लगायतका राष्ट्र रहेका थिए ।