नेपाल ज्योति चैत२९- विदेशमा काम गर्न जाने नेपाली कामदारहरूले स्वदेशमा पनि श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हटाउने प्रस्ताव अघि बढाइएको अधिकारीहरूले बताएका छन्।
वैदेशिक रोजगार विभागले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमामा त्यससम्बन्धी प्रस्ताव गरेको र उसका अनुसार केही ऐन एवं नियमावली संशोधन गर्नुपर्ने देखिएको छ।
अहिलेको व्यवस्थाअनुसार नेपाली कामदार जान लागेको गन्तव्य मुलुकका साथै नेपालबाट पनि श्रम स्वीकृति लिनुपर्ने हुन्छ।
नेपालले श्रम स्वीकृति नदिएसम्म कामदारहरू वैधानिक रूपमा कामका लागि विदेश जान पाउँदैनन्।
विभागका अधिकारीहरु भन्छरु……….
कामका लागि विदेश जाने नेपालीहरूले स्वदेशबाट पनि श्रम स्वीकृति लिनुपर्ने विद्यमान व्यवस्था अनावश्यकु रहेको अधिकारीहरूको तर्क छ।
विगतमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने नाममा सरलीकरण गर्नुपर्थ्यो, प्रक्रियाहरू घटाउनुपर्थ्यो। तर गौँडामाथि गौँडा थपियो। जति धेरै कसिन्छ त्यति व्यवस्थित हुन्छ भन्ने हाम्रो बुझाइ रह्यो, विभागका महानिर्देशक शेषनारायण पौडेलले भने।
त्यसले गर्दा वैदेशिक रोजगारका प्रक्रियाहरू सर्वसाधारण नागरिकका लागि आफैँ काम गरेर पार गर्ने अवस्था रहेन र जति धेरै गौँडा भयो त्यति धेरै ठगी भयो। लागत र समय पनि बढ्यो, उनले थपे।
श्रम स्वीकृति गन्तव्य मुलुकले दिने विषय भए पनि नेपालबाट समेत स्वीकृति लिन लगाउनु उपयुक्त नभएको पौडेलको ठम्याइ छ।
सम्बन्धित देशले नै श्रम स्वीकृति दिइसकेपछि हामीले श्रम स्वीकृतिको नाममा कामदारलाई यति लामो समय अल्झाउनु हुँदैन, महानिर्देशक पौडेलले भने।
हामीले नेपाली कामदारको अभिलेखीकरण गर्ने र उनीहरूको बीमा, सामाजिक सुरक्षा, स्वास्थ्य परीक्षण लगायतका कुरा अनलाइन माध्यमबाट गराएर एकदम छिटोछरितो विदेश पठाउन सकिन्छ।
नेपालबाट पनि श्रम स्वीकृति लिनुपर्ने प्रक्रियामा नेपाली कामदारहरू अल्झँदा कतिपय अवस्थामा वैदेशिक रोजगारको अवसर गुम्ने गरेको अधिकारीहरूको दाबी छ।