भरपुरमा कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारी कायमै

स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई मनोनयन फिर्ता लिन निर्वाचन आयोगले दिएको समय शुक्रवार अपराह्ण ५ बजेबाट सकियो

  • प्रकाशित मिति : April 29, 2022
  • - विश्व घिमिरे
जगन्नाथ-पौडेल

नेपाल ज्योति बैशाख १६- स्थानिय तहको निर्वाचनको उम्मेदवार चयन प्रकृया प्रारम्भ भएदेखिनै  सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकामा पार्टीको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता गर्न अश्विकार गरेका छन्।

सत्ता गठबन्धनले त्यहाँ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी नेत्री प्रचण्ड पुत्रि रेनु दाहाललाई उठाउने निर्णय गरे लगत्तै यहाँको राजनितीक माहोल देश भर चासोको बिषय बनिसकेको थियो ।

पौडेलको उम्मेदवारी फिर्ता गराउने उद्देश्यले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई भरतपुर पठाएको, उनिहरुले भरमग्दुर प्रयास गरे पनि असफल भएका हुन् ।

उनीहरूलाई पौडेलले आफूलाई जिल्लाका कांग्रेस कार्यकर्ता र नेताहरूले उठाएको र आफू उम्मेदवारी फिर्ता लिन सक्ने अवस्थामा नभएको भन्दै पार्टीले कारबाही गरे कुनै गुनासो नगर्ने बताएका थिए।

पौडेलले पार्टीका शीर्ष तहका नेताहरूले उम्मेदवारी फिर्ता लिन आग्रह गरे पनि आफू सहमत नभएको उनले संचार माध्यमलाई  बताए।

जिल्लाका कार्यकर्ताहरू निराश बन्ने र उनीहरूको मनोबल गिर्ने अवस्था आएपछि कारबाही भोग्न तयार भएर नै मैले उम्मेदवारी दिएको हुँ, फिर्ता लिने उद्देश्यले दिएको थिइनँ, पत्रकारमाझ पौडेलले भने। लोकतन्त्र र कांग्रेसलाई बलियो बनाउन आफ्नो उम्मेदवारीले सहयोग नै गर्छ, उनले दृढताका साथ भने ।