निर्वाचन सुरक्षाका लागि जुम्लामा विद्युतीय नक्सा

  • प्रकाशित मिति : May 2, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति बैशाख १८-   जुम्ला — वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान केन्द्र तथा मतदानस्थलको सुरक्षाका लागि जुम्लामा विद्युतीय नक्सा तयार पारिएको छ । जिल्ला सुरक्षा समितिले विद्युतीय नक्साको आधारमा हरेक क्रियाकलापको निगरानी राख्ने गरी विद्युतीय नक्सा तयार पारिएको हो ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले विद्युतीय नक्साको माध्यमबाट भौगोलिक विकटताका आधारमा कुन मतदानस्थल कति संवेदनशील छ भन्ने विषयको निगरानी राख्न सकिने बताइन् । सुरक्षा समितिले भौतिक रूपमा पनि निर्वाचन गतिविधिको अनुगमन गर्ने छ । विद्युतीय नक्साको प्रयोगबाट पनि निरन्तर निगरानी राख्ने जनाएको छ ।
मतदानस्थल तथा मतदान केन्द्रको दूरीका आधारमा सुरक्षा व्यवस्थापन मिलाउने तयारी जिल्ला सुरक्षा समितिले गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्लास्थित राजनीतिक दल र सरोकारवाला सबैलाई बोलाएर निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि साथ दिन आग्रह गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी नरेन्द्र चन्दले जुम्लामा ७९ मतदानस्थल र १०२ मतदान केन्द्र रहेको जानकारी दिए । जसमध्ये १४ मतदान केन्द्रमा ५ सय भन्दा कम मतदाता छन । उनले भने,‘सडक सञ्जाल विस्तार हुन नसकेका कारण केही मतदान केन्द्रमा हिँडेर जानुपर्ने बाध्यता छ । एक दिनसम्म लगाएर मात्र मतदान केन्द्रमा पुग्नु पर्ने अवस्था छ । भौगोलिक रूपमा विकट रहेका मतदान केन्द्को अनुगमन गर्न र अवस्था अवलोकनका लागि सुरक्षा योजना तयार भइसकेको छ । ’
जिल्लाका सबै मतदानस्थल तथा मतदान केन्द्रको अनुगमन सुरक्षा समितिले एक महिनाअघि देखि नै गर्दै आइराखेको छ ।
निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली हरेक स्थानीय तहमा पुगिसकेको छ । सेनालाई राज्यले दिएको अधिकार र मापदण्डमा निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा परिचालन भइसकेको उनले बताए ।
हरेक स्थानीय तहमा विद्युतीय नक्सा राखिएको र नक्साका आधारमा जिल्ला भरी कसरी मतदानस्थलमा काम भइरहेको हेर्ने काम चलिरहेको छ । गणपति थापाका अनुसार डोल्पा,मुगु,हुम्ला र कालीकोटमा सुरक्षा परिचालन गरिएको छ । ड्रोनको प्रयोग गरेर सबै मतदानस्थलको विवरण अपडेट गर्ने गरिएको छ । सेनाको बम डिस्पोजल टिम पनि सबै स्थानीय तहमा खटिइसकेको छ । जुम्लाबाट छनौट भएका ६६९ जना म्यादी प्रहरीसमेत परिचालन भइसकेको सुरक्षा समितिले जनाएको छ ।