नेपाल ज्योति,बैशाख १९- सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ ।
मन्त्रालयले हाल रणनीतिको मस्यौदा तयार पारिरहेको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न दिनेगरी मस्यौदा तयारी थालिएको हो । “अहिले सरकारी अस्पताल भएका ठाउँमा निजी छन् । निजी भएका ठाउँमा सरकारी पनि छन्। उनले यसरी निजी अस्पतालले सरकारी अस्पताल नभएको ठाउँमा खोल्दा कर छुट दिने तथा सहुलियतसमेत दिइने बताए । मन्त्रालयले प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार हुने लक्ष्यसहित रणनीति तयार गर्दैछ ।