खलढुङ्गा गाउँपालिकाको अध्यक्ष उम्मेदवार  विष्टविरुद्ध पक्राउ पुर्जी जारि

ओखलढुङ्गाको लिखु गाउँपालिकाको अध्यक्ष उम्मेदवार  मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी

  • प्रकाशित मिति : May 4, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २१-नेकपा एमालेबाट ओखलढुङ्गाको लिखु गाउँपालिकाको अध्यक्ष उम्मेदवार  मिलनकुमार विष्टविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । भक्तपुर जिल्ला अदालतले उनको विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । खोजविनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई पत्र पठाएको बुझिएको छ ।

उम्मेदवार विष्टविरुद्ध बैंकिङ कसुर तथा किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको हो । गत वैशाख १६ गते अदालतले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई पक्राउ पुर्जी पठाइएको हो ।

विष्टविरुद्ध दोहोरो नागरिकता लिएको कसुरमा उजुरी परेको थियो । यस विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

भक्तपुर जिल्ला अदालतले पठाएको पक्राउ पुर्जीमा विष्टलाई ठगी तथा लिखतसम्बन्धी कसुरमा फरार सूचीमा राखिएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताएका छन्। लिखु गाउँपालिकाको एमालेको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका विष्टको उम्मेदवारी खारेज नहुने निर्वाचन अधिकृत राजेशकुमार थापाले बताए । उनले कानुन अनुसार हुने गरी हाललाई मनोनयन पत्र खारेज नहुने जानकारी दिए।