कर्णाली प्रदेशमा खाद्य प्रयोगशाला स्थापनाको तयारी

  • प्रकाशित मिति : May 5, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २२-कर्णाली प्रदेशमा खाद्य प्रयोगशाला स्थापनाको तयारी थालिएको छ ।खाद्यको गुणस्तर मापनका लागि नमुना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापनाको कामलाई अन्तिम चरणमा रहेको जनाइएको छ ।  हालसम्म यहाँ प्रयोगशाला नहुँदा बाहिर पठाउनुपर्ने बाध्यता छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आगामी जेठ ३० गतेदेखि प्रयोगशाला सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले उपकरण खरिदको प्रक्रिया कार्य अगाडि बढेको जानकारी दिएका थिए । प्रयोगशालाका लागि घरभाडामा लिएर फर्निचर, कम्प्युटरलगायतको व्यवस्था गरिसकेको उनले बताए।  खाद्य तथा खाद्यसम्बन्धी उद्योग मापदण्डअनुसार भए, नभएको नमुना सङ्कलन गरेर हालसम्म बाहिर पठाउने गरिएको र अब छिट्टै यो समस्या हट्ने उनको भनाइ छ ।