उम्मेदवार बनेकी रेनु दाहालले चुनाव नजिते गठबन्धन टुट्न सक्ने

  • प्रकाशित मिति : May 6, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २३-सत्तारूढ दलका शीर्ष नेताहरूले भरतपुर महानगरपालिकाको निर्वाचन परिणामले पाँचदलीय गठबन्धनको भविष्य निर्धारण गर्ने अभिव्यक्ति दिएका छन् । माओवादी केन्द्रबाट महानगर प्रमुखमा उम्मेदवार बनेकी रेनु दाहालले चुनाव नजिते गठबन्धन टुट्न सक्ने उनीहरूले जनाएका छन्  ।

गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनुलाई नै साझा उम्मेदवारका रूपमा अघि सारेपछि कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । पौडेलको उम्मेदवारीले खडा गरेको चुनौती चिर्न बिहीबार भरतपुरमा चुनावी सभा गरेरै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायतले रेनुका पक्षमा मत मागेका छन् । भरतपुरको केन्द्रीय बसपार्कमा आयोजित सभामा देउवाले रेनुलाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताए । गठबन्धनको भविष्य भरतपुरको निर्वाचनमा निर्भर रहेको उल्लेख गर्दै उनले गठबन्धन टुटे आफ्नो पार्टीलाई क्षति पुग्ने अभिव्यक्तिसमेत दिए । ‘भरतपुरबाट गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ, यसलाई सफल हुन दिनु हुँदैन,’ उनले भने, ‘षड्यन्त्र सफल भए कांग्रेस पार्टी पनि खत्तम हुन्छ ।’