सर्वोच्चले जन्मकैद सुनाएका दुई जना राष्ट्रपतिबाट माफी

  • प्रकाशित मिति : May 6, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २३-बाराका पत्रकार साहको हत्या अभियोगमा सर्वोच्चले जन्मकैद सुनाएका दुई जना राष्ट्रपतिबाट माफी पाएर छुटे, त्यही घटनाका थप दुईलाई जिल्ला अदालतले न्यूनतम सजाय तोक्यो।श्रीमान्‌लाई मार्ने सबैलाई मौतको सजाय भए मात्र मेरो मन बुझ्थ्यो तर कानुनमा भएअनुसार जन्मकैद त हुनुपर्ने नि स् उमरामवती साह, वीरेन्द्रकी श्रीमती बाराका पत्रकार वीरेन्द्र साहको हत्या भएको १५ वर्ष पुग्न लाग्यो । पत्नी उमरामवतीले न्यायका लागि संघर्ष थालेको पनि उति समय भयो । तर, अहिलेसम्म उनले न्यायको महसुस गरेकी छैनन् बरु हत्यामा संलग्न माओवादी कार्यकर्तालाई राज्यका निकायले दिइरहेको एकपछि अर्को सहुलियतले उनलाई थप एक्लो र असहाय बनाएको छ ।

माओवादी शान्ति प्रक्रियामा आइसकेको अवस्थामा कार्यकर्ताहरू लालबहादुर चौधरी, कुन्दन फौजदार, हरेराम पटेल, मेनेजर गिरी र रामएकवाल सहनीले २०६४ असोज १८ मा पत्रकार साहलाई बाराको साविक उम्जन गाविस पिपराबाट अपहरण गरेका थिए । त्यसपछि बेपत्ता बनाइएका उनको शव कात्तिक २२ मा बुमरवाना गाविस–७ स्थित टाँगियाबस्ती छेउको जंगलमा गाडिएको अवस्थामा भेटिएको थियो । पत्रकार महासंघको संस्थागत दबाब, संसदीय समितिको स्थलगत अध्ययन, राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको निरन्तरको पहलपछि माओवादीले बाध्य भएर घटना स्वीकार गरेको थियो । बाराबाट दृष्टि साप्ताहिक र एभिन्युज टेलिभिजनका लागि रिपोर्टिङ गर्ने साहलाई कन्चटमा गोली प्रहार गरी हत्या गरिएको थियो । साहको शवसँगै कलम, डायरी, प्रेस पास, चस्मा र नागरिकताको फोटोकपी पनि भेटिएको थियो ।