लामो समयदेखि क्षतिपूर्तिकै आशमा मतदान गर्दै

  • प्रकाशित मिति : May 6, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २३-टिनको बाकसमा जग्गाको धनीपुर्जा सुरक्षित छ । तर जग्गा छैन । तीन दशकअघि कोसीको भंगालोले जग्गा लग्यो । सुनसरीको बराहक्षेत्रका कोसी पीडितले लामो समयदेखि क्षतिपूर्तिकै आशमा मतदान गर्दै आएका छन् । उनीहरूले यस अवधिमा केवल आश्वासनकै भरमा मत हाल्दै आएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरका करिब ६ हजार ५ सय घरधुरीका २५ हजार मतदाता यसपटकको स्थानीय तहको चुनावमा पनि मतदान गर्दैछन् । ०२२ सालदेखि कोसी पीडितले क्षतिपूर्ति र मुआब्जा माग्दै आएका छन् । कोसी कटान डुबान संघर्ष समिति नै बनाएर स्थानीय नेता, सांसददेखि प्रधानमन्त्रीसम्मलाई पटक–पटक ज्ञापनपत्रसमेत बुझाएका छन् । पञ्चायती व्यवस्थादेखि अहिलेसम्म थुप्रै सरकार बने, बनाइए तर उनीहरूको अवस्था भने जस्ताको त्यस्तै रहेको छ ।

बाढीले विस्थापित रेल्वे, जब्दी, बीचपानी, महेन्द्रनगर, बांगे, भरौल, सुनसरी मोरङ सिंचाइ आयोजनाको चतरा नहरको डिल, मधुवन, राजवास, प्रकाशपुरलगायतका स्थानमा सुकुम्वासी जीवन बिताइरहेका छन् । कोसीले पटक–पटक गरी बराहक्षेत्रको ८ हजार ६ सय १७ कट्ठा जग्गा बगाएको छ । क्षतिपूर्ति र मुआब्जाकै आशमा फेरि पनि स्थानीय मतदानमा सहभागी हुँदैछन् ।