हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी

  • प्रकाशित मिति : May 9, 2022
  • नेपाल ज्योति

नेपाल ज्योति,बैशाख २६-अतिक्रमित भूमि कालापानी नजिकको दार्चुलाको उत्तरी क्षेत्र व्यासमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि व्यास गाउँपालिका–१ मा रहेका छाङरु र तिङ्करको मतदान केन्द्रमा नेपाली सेनाको हेलिकप्टरले निर्वाचन सामग्री ढुवानी गरेको हो ।
नेपाली भूमिबाट सो क्षेत्र जान बाटो नभएका कारण हेलिकप्टरमार्फत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरु लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । सोमवार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत छाङरु र तिङ्करको मतदान केन्द्रका लागि मतपत्र, मतदाता परिचयपत्रलगायत सबैखाले निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीलाई पठाइएको उहाँले बताउनुभयो । छाङरुको कैलाशपति आवि केन्द्रमा ३७५ र तिङ्करको आवि मोती महिला सङ्घ केन्द्रमा २३१ मतदाता छन् । व्यासवासी वैशाख तेस्रो साता सदरमुकामबाट व्यास उक्लिएका छन् ।