पहिलो पटक निर्वाचनमा भाग लिनेलाई मतदाता शिक्षा अनिवार्य

  • प्रकाशित मिति : May 11, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,बैशाख २८-स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ। त्यसका लागि नयाँ मतदाता परिचय पत्र लिन आउने नागरिकलाई अनिवार्य मतदानसम्बन्धी शिक्षा दिएर पठाउने गरेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र मतदान स्थलमा अनिवार्य लिएर जानुपर्ने व्यवस्थाका कारण मतदाता शिक्षा लिन सजिलो भएको हो। निर्वाचन आयोगका अनुसार वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले स्थानीय निर्वाचनमा मतदान गर्न पाउने छन्।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार, मतदाता परिचय पत्र लिन आउने र पहिलो पटक निर्वाचनमा भाग लिनेलाई निर्वाचन अधिकृतको कार्यालयले मतदाता शिक्षा दिएर पठाउने गरेको छ।