स्थानिय निर्वाचनक्रममा कतिपय स्थानमा हवाई फाएर- झडप पछि मतदान स्थगित, त कतै मतदान अधिकृतमाथि कुटपिट

  • प्रकाशित मिति : May 13, 2022
  • - विश्व घिमिरे
हवाई फाएर

नेपाल ज्योति, बैशाख ३० – निर्वाचन स्थलबाहिर एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ७ को शारदा मावि, जगन्नाथको २ र बुढीगंगाको ५ नम्बर वडामा मतदान प्रक्रिया स्थगित गरिएको छ ।

उक्त मतदान केन्द्रहरुमा मतदान प्रक्रिया स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिकाको–२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा विवाद हुदाँ एक समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृत विपिन यादवमाथि कुटपीट गरेको छ ।

मधेस प्रदेसकै बाराको सिम्रौनगढ नगरपालिका २ बैरिया र देवताल गाउँपालिका ७ पिपरपाती मतदान केन्द्रमा दुई समूहबीच झडप भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले झडपका कारण अहिले ती केन्द्रमा मतदान रोकिएको जानकारी दिएका छन् ।

सर्लाहीको बलरामा मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको भने बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमूक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको हो।

रामेछापको दोरम्वा शैलुङ गाउँपालिकामा झडप भएको छ । गाउँपालिकाको वडा नं ३ को टोकरपुरस्थित कन्ठेश्वर मावि मतदान केन्द्रमा झडप भएको हो ।

दैलेखको ठाटीकाँध गाउँपालिका वडा नं. ६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा झडप भएको छ। दुई पक्षबीच झडप हुँदा प्रहरी अवस्था नियन्त्रणमा लिन हवाई फायर गरेको छ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९, मिश्र भन्ज्यांङमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिन ९ राउण्ड हवाई फायर गरिएको छ ।

रौतहटको फतुवा विजयपुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ । मतदानस्थलमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ ।