नेपाल ज्योती जेठ१५- आज आइतवार बिहान ९.५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा यात्रुवाहक विमान सम्पर्कविहीन भएको उड्डयन अधिकारीहरूले बताएका छन्।
बिमानमा ३ जना क्रिउ मेम्बर र १९ जना यात्रीहरु गरी जम्मा २२ जना मान्छे थिए ।उक्त बिमान १० बजेपछि सम्पर्कविहीन भएको पोखरा विमानस्थलका महाप्रबन्धक विक्रमराज गौतमले पुष्टि गरेका छन्।
जोमसोम विमानस्थलका कर्मचारी पुष्कलराज शर्माका अनुसार ९.५५ बजे उडेको विमान १० बजेर ११ मिनेट गएदेखि सम्पर्कमा छैन।
यात्रुमध्ये चार जना भारतीय, दुई अन्य देशका नागरिक र बाँकी नेपाली नागरिक हुन्।विमान सम्पर्कविहीन भएपछि धौलागिरि क्षेत्रमा खोजीका लागि हेलिकप्टर पठाइएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारीले पनि सम्पर्कविहीन विमानको खोजी भइरहेको बताएका छन्।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान कार्यालय गौचरणका अनुसार बिहान १० बजेको समयमा पोखराबाट जोमसोम तर्फको क्षेत्रमा बादल लागेको हुनसक्ने जनाएको छ।
सन् २०१६ को फेब्रुअरी २४ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दी जिल्लाको दानामा दुर्घटनाग्रस्त हुँदा २३ जना मानिसको मृत्यु भएको थियो दुर्घटनामा नेपाल, चीन र कुवेतका नागरिक परेका थिए। विमानस्थलबाट उडेको १० मिनेटपछि उक्त ट्विन-ओटर विमान सम्पर्कविहीन भएको थियो।
त्यसअघि सन् २०१२ मा पोखराबाट उडेको अग्नि एयरको विमान जोमसोम विमानस्थलमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो।
सन् २०१३ मा समेत त्यहाँ नेपाल एअरलायन्सको विमान दुर्घटना भएको थियो। तर त्यतिबेला कुनै मानवीय क्षति भएको थिएन।
पोखरा जोमजोम हवाईमार्गमा पहाडी खोँचहरू पर्छन्। तीव्र गतिमा चल्ने वायुका कारण जोमसोम विमानस्थल दुवैलाई उड्डयन क्षेत्रका जानकारहरूले चुनौतीपूर्ण मान्ने गरेका छन्।