हराएको यात्रुवाहक विमान दुर्घटनास्थलमा १४ जनाको शव भेटिए

  • प्रकाशित मिति : May 30, 2022
  • नेपाल ज्योति

नेपाल ज्योति,जेष्ठ १६- आइतवार बिहानबाट सम्पर्कविहीन भएको तारा एअरको एउटा यात्रुवाहक विमान दुर्घटनास्थलमा १४ जनाको शव भेटिएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ।

प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले भनेः “१४ वटा शव बरामद भएको छ। जीवित भेटिनसक्ने अनुमानमा खोजी कार्य जारी छ।”नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले “फिस्टेल एअरको हेलिकोप्टरले मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २को सानुसरे भन्ने ठाउँमा १४,५०० फिटको उचाइमा विमान दुर्घटना भएको पुष्टि गरेको” जनाएको छ।

प्राधिकरणले उक्त हेलिकोप्टर दुर्घटना स्थल अवतरण गरेको र उद्धारको कार्य तीव्र रूपमा जारी रहेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ।

यसअघि नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले विमान मुस्ताङको थासाङ गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताएका थिए।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका थिएः “खोजी तथा उद्धार कार्यमा संलग्न फौजहरूले विमान दुर्घटना स्थल भौतिक रूपमा पत्ता लगाएका छन्।”