नेपाल ज्योति,जेष्ठ २४-मंगलबार विभिन्न कार्यक्रम गरेर विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । तर बाजुराको अतिविपन्न दलित समुदायको बसोबास रहेको मुक्तिकोट गाउँका बासिन्दाले खानै नपाएर कुपोषणको अवस्था झन्झन् भयावह हुँदै गइरहेको छ ।डेढ महिना अघिसम्म कडा कुपोषित बालबालिकाको संख्या १६ रहेको मुक्तिकोटमा पछिल्लो डेढ महिनाको अवधिमा २३ पुगेको छ । ०७८ वैशाखदेखि फागुन महिनासम्म यस गाउँका ५ वर्षमुनिका ६ जना कुपोषित बालबालिकाको मृत्यु भइसकेको छ ।मुक्तिकोटस्थित खोलीकोटमा रहेको आधारभूत स्वास्थ्य इकाई प्रमुख उमेश शाहीका अनुसार मुक्तिकोटमा ५ वर्ष मुनिका बालबालिकाको संख्या २९३ रहेको छ । फागुनसम्म ४५ बालबालिकामा मध्यम शीघ्र कुपोषण रहेकोमा अहिले ४६ पुगेको शाहीले बताएका छन् ।
यता, प्रदेश सरकारले भने यहाँको कुपोषण समस्या समाधान गर्न अहिलेम्म ठोस कदम चालेको छैन । यसै साता धनगढीस्थित प्रदेश नीति तथा योजना आयोगअन्तर्गत रहेको बहुक्षेत्रीय पोषण योजनाले मुक्तिकोटका ३ सय परिवारलाई चामल, दाल, नुन र तेल वितरण गरेको छ । ‘अवस्था भयावह भएकाले तत्कालका लागि राहतस्वरूप खाद्यान्न उपलब्ध गराएका हौं,’ प्रदेश नीति तथा योजना आयोगका सचिव नारायण पौडेलले भने, ‘मुक्तिकोटलगायत सुदूरपश्चिमा रहेको कुपोषण समस्या समाधान गर्न सरकारले नीति तथा कार्यक्रममा शून्य कुपोषणको कार्यक्रम राखेको छ ।