बाघलाई नियन्त्रणमा लिन गोली चलाउदा १८ वर्षीया किशोरीको मृत्यु

प्रहरीले चलाएको गोली लागि मधुवन–२ कि नविना चौधरीको सोमबार मृत्यु

  • प्रकाशित मिति : June 7, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,जेष्ठ २४-बर्दियामा प्रहरीको गोली लागि १८ वर्षीया किशोरीको मृत्यु भएपछि तनावग्रस्त रहेको मधुवन नगरपालिका–२ ओराली बजार मंगलबार बिहानदेखि तनावग्रस्त रहेको छ । प्रहरीले चलाएको गोली लागि मधुवन–२ कि नविना चौधरीको सोमबार मृत्यु भएको थियो । घटनामा राकेश चौधरी गोली लागि घाइते भएका थिए । उनको उपचार नेपालगन्जमा भइरहेको छ । गोली लागेका चौधरी खतरामुक्त रहेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

घटनालाई लिएर स्थानीयले हुलाकी सडक अन्तर्गत ओराली बजार—गुलरिया र राजापुर सडक खण्डमा टायर बालेर अवरोध जारी राखेका छन् । यस ठाउँमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । यसैबीच मधुवन नगरपालिकामा यस घटनालाई लिएर नेपाल प्रहरी,सशस्त्र प्रहरीका डिआइजी, प्रजिअ, प्रहरी प्रमुख लगायत सर्वदलीय बैठक बसेको छ ।

प्रहरीको गोली लागि मृत्यु भएकी चौधरीको शव अस्पतालमा राखिएको छ । उनको शव परीक्षण भएको छैन ।

समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन माग गर्दे वन्यजन्तु पीडितले प्रदर्शन गरेका हुन् । खाता जैविकमार्गमा विगत तीन वर्ष यता खाता जैविकमार्गमा नौ जनाको बाघको आक्रमणमा ज्यान गइसकेको छ । १३ दिनअघि खाता जैविकमार्गको मधुवन नगरपालिका—२ मा बाख्रा चराउन गएकी ४९ वर्षिया कौशिका पाललाई बाघको आक्रमणमा मृत्यु भएको थियो । यस क्षेत्रमा निरन्तर बाघको आक्रमण बढेपछि प्रदर्शनमा उत्रेका हुन् । मानिसको ज्यान जानु, घाइते हुन थालेपछि स्थानीय समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिनु पर्ने र तारबार लगाउन माग गरेका छन् ।