विराटनगर विमानस्थलपीडित सडकमा उत्रिए

विराटनगर विमानस्थलपीडित विराटनगर–४ का साढे तीन सय परिवार सडकमा उत्रिए

  • प्रकाशित मिति : June 14, 2022
  • जेनिसा कार्की

नेपाल ज्योति,जेष्ठ ३१-कि मुआब्जा देऊ, नभए रोक्का गरिएको घरजग्गा फुकुवा गर’ भन्दै विराटनगर विमानस्थलपीडित विराटनगर–४ का साढे तीन सय परिवार सडकमा उत्रिएका छन् ।उनीहरूले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री कार्यालयअगाडि केहीबेर धर्ना दिएर सडक आन्दोलनको सुरुवात गरे । उनीहरूले मुख्यमन्त्री राजेन्द्र राई र प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहाललाई ज्ञापनपत्र बुझाउँदै साताभित्रमा मुआब्जाको व्यवस्था वा घरजग्गा फुकुवा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।विमानस्थलको स्तरोन्नति गर्ने भन्दै सरकारले आसपासका बस्तीका १ सय २६ बिघा जमिन र घर दुई वर्षअघि रोक्का गरेर मुआब्जा दाबी गर्न बोलाएको थियो । तर सरकारले मुआब्जाका लागि दुई वर्षसम्म बजेटको व्यवस्था नगरेपछि उनीहरू न्यायका लागि सडकमा आएका हुन् । ‘दुई वर्षभन्दा बढी समय घरजग्गा रोक्का हुँदा आर्थिक संकटका बेला वित्तीय संस्थामा राखेर कारोबार गर्न पनि पाइएन,’ विमानस्थल संघर्ष समितिका अध्यक्ष वेदराज पौडेलले भने, ‘आफ्नै जग्गाको मुआब्जा वा फुकुवाको माग मात्र गरेका हौं, जग्गा बेचबिखन र अंशबन्डासमेत गर्न पाएका छैनौं, न छाडेर हिँड्न, न व्यवस्थित भएर बस्न पाइएको छ, सरकारले अन्योलमा पार्‍यो ।’