तालिमको क्रममा बेहोस भएकी एक महिला प्रहरी जवानको मृत्यु

  • प्रकाशित मिति : July 16, 2022
  • -सरु आचार्य

नेपाल ज्योती असाढ३२- गण्डकी प्रदेश प्रहरीगण पोखरामा चलेको तालिमका क्रममा बेहोस भएकी एक प्रहरी जवानको मृत्यु भएको छ। २०७८ असोज १७ गतेबाट सुरु भएको २३४ कार्यावधिको प्रहरी जवान आधारभूत तालिम ७–०३ औँ समूहमा तालिमका क्रममा नियमित शारीरिक अभ्यासको क्रममा बागलुङको जैमिनी नगरपालिका–९ पैयूँथन्थाप घर भएकी करिब २० वर्षीया पवित्रा थापाको मृत्यु भएको हो।

तालिम केन्द्रका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक बहादुर केसीका अनुसार गत असार २४ गते अभ्यासकै क्रममा आफूलाई स्वास्थ्यमा कठिनाइ भएको बताएकी उनी अचानक बेहोस बनेकी थिइन्। तत्कालै उनलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। चिकित्सकहरूले ‘मल्टी अर्गान फेलर’ का कारण उनको मृत्यु भएको बताएको डिएसपी केसीले बताए।

‘नियमित अभ्यासमा सामान्य अभ्यास भएकै बेलामा ढल्नुभएको थियो। तत्कालै उपचारको लागि लगेर सात दिनसम्म डक्टरहरूले निकै प्रयास गर्दा पनि उहाँलाई बचाउन सकिएन,’ उनले भने, ‘हिट स्ट्रोक हुँदा भाइटल अर्गानमा हिट भएको र त्यसैका कारण मल्टी अर्गान फेल भएर मृत्यु भएको डक्टरहरूले बताउनुभयो।’