बालबालिकालाई ललाईफकाई भारत पुर्याएर मिर्गौला बेच्ने पाँच जनाको समुह पक्राउ

  • प्रकाशित मिति : July 17, 2022
  • -सरु आचार्य

नेपाल ज्योती श्रावण१- बालबालिकालाई ललाईफकाई भारत पुर्याएर बालबालिकाको मिर्गौला बिक्री गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुले काठमाडौंका सडक बालबालिकालाई लोभ्याएर भारतमै बेचेको प्रहरीको आरोप छ ।

प्रहरीका अनुसार गिरोहको नाइके धनबहादुर रहेका छन् । धनबहादुरले नै मिर्गौला ग्रहणकर्तासँग मोलमलाई गर्ने गर्दै आएका थिए ।साथै, धनबहादुर र विमलले आफ्नो एउटा मिर्गौला भारतमा बेचेको पनि खुलेको छ । दुवैले आफूहरुले पनि मिर्गौला बेचेर आर्थिक आर्जन गरेको भन्दै प्रलोभनमा पारेर बालबालिकालाई पनि फकाउने गर्ने गरेको पनि खुलेको छ ।

असार १५ गते बालबालिकालाई भारतको कोलकता लैजानका लागि तयारी गरिरहेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि अनुसन्धान सुरु गर्दा रोका र तामाङ फरार रहेका थिए । उनीहरुलाई प्रहरीले २७ गते पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुंवर, धुपेन्द्र शाही र दोलेखका बिमलबहादुर शाही र झापाका आशिष तामाङ रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार ऐन–२०६४ अन्तर्गत कारबाहीका लागि अनुसन्धान भइरहेको छ ।