नेपाल ज्योती, श्रावण१२- अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । दुई दिने औपचारिक भ्रमणका क्रममा उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका छन् ।
लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग शुक्रवार भेटवार्ता गर्ने तय भएको छ । अमेरिकी सहायताको एमसिसी परियोजना संसदबाट पारित हुनुभन्दा पहिले आठ महिनाअघि (२०७८ मंसिर पहिलो साता) उनले नेपालको भ्रमण गरेका थिए । त्यसबेला र २७ माघमा अमेरिकाबाटै टेलिफोन गरेर उनले शीर्ष नेताहरुलाई एमसिसी पारित गर्न दबाब दिएका थिए । उनले १६ फागुनसम्मको समयसीमामा एमसिसी पारित नभए त्यसको असर द्धिपक्षीय सम्बन्धमा पर्न सक्ने कूटनीतिक चेतावनीसमेत दिएका थिए । नेपालको संसदबाट १५ फागुनमा एमसिसी पारित भएको थियो ।
लु आउनुअघि चिनियाँ कम्युनिष्ट पार्टीको विदेश समन्वय विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण भएको छ । लिउले २६ देखि २९ असारमा नेपालको औपचारिक भ्रमण गरेका थिए । लु अघि मानवअधिकार तथा तिब्बति मामिला हेर्ने अमेरिकी उपविदेश मन्त्री उज्रा जियाले जेठ पहिलो साता नेपाल भ्रमण गरेकी थिइन् । अमेरिकी उपविदेशमन्त्री जिया भन्दा अघि चैतमा चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङ् यीले नेपालको औपचारिक भ्रमण गरेका थिए । एमसिसीका बिषयमा चिनियाँ अधिकारीहरुले सार्वजनिकरुपमा नै अमेरिकी व्यवहारको आलोचना गरेका थिए । एमसिसीका नाममा अमेरिकाले नेपालमा जबर्जस्ती कूटनीति लाद्न खोजेको चिनियाँ आरोप थियो ।
एमसिसी पारित हुनुअघि कूटनीतिक गृहकार्यमा सक्रिय रहेका लु नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) नेपालले अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि नेपाल आइपुगेका हुन् । नेपालले ६ असारमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अस्वीकार गर्ने निर्णय गरेको थियो । यद्यपि एसपिपी अघि नबढाउने नेपाल सरकारको निर्णयबारे नेपालले अमेरिकालाई औपचारिक पत्र पठाएको छैन ।