नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने

एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुने

  • प्रकाशित मिति : March 24, 2023
  • मुरारी घिमिरे
एमाले

नेपाल ज्योति, चैत्र १० –

नेकपा (एमाले) ले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरेको छ ।  एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुने पक्का भएको छ ।

सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी यसअघि नै सरकारबाट अलग भइसकेको छ । गत पुस २५ गते माओवादी नेता शालिकाराम जम्कट्टेलको नेतृत्वमा बनेको सरकारमा एमालेसहितका पाँच दल सहभागी भएका थिए ।

गत फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट राप्रपा अलग भएपछि जम्कट्टेलले यही चैत ८ गते प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको थियो । नेपाली कांग्रेस सहभागी नभएपछि उक्त दिन अबेर विश्वासको मत लिने कार्यक्रम आजका लागि लागि सारिएको थियो ।

मुख्यमन्त्री जम्कट्टेलले संविधानको धारा १८८ को उपधारा ९२० अनुसार विश्वासको मत लिन लागेका हुन् । सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिन अग्रसर भएका हुन् ।