नेपाल ज्योति, असोज २३ – क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्रचण्ड नेतृत्वको सरकारले इजरायलको पक्षमा वक्तव्यबाजी गरेर साम्राज्यवादको दलाली गरेको आरोप लगाएको छ । आइतबार इजरायलमा प्यालेस्टाइनी हमास समूहको आतङ्ककारी हमलामा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोमा विज्ञप्ति जारी गर्दै सरकारमाथि उक्त आरोप लगाएको हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीले ‘इजरायली सत्ताबाट प्यालेस्ताइनी जनतामाथि थोपरिएको अत्याचारप्रति आँखा चिम्लिएर अमेरिकी साम्राज्यवादको गोटी इजरायली सरकारको पक्षमा वक्तव्यबाजी गर्ने दाहाल सरकारको साम्राज्यवाद प्रतिको दलाली लज्जास्पद परिघटना हो भन्दै कडा आलोचना गरेको छ ।
विदेशी भूमिमा नागरिकहरूको हताहाति हुँदा पनि नेपालको दूतावास बेखबर हुनु, सरकारसँग समन्वय गरेको औपचारिकता मात्र देखिनु तर व्यवहारमा क्रियाशील हुन नसक्नु सरकार र यसका निकायहरूको लाचारीपन भएको आरोप समेत लगाएको छ ।