अफलाइन राइडर प्रयोग नगर्न प्रहरी अनुरोध

बालाजुमा बसले ठक्कर दिँदा स्कुटरमा चालकपछाडि बसेकी एक महिलाको घटनास्थलमै मृत्यु

  • प्रकाशित मिति : October 17, 2023
  • - बिभुषा सुबेदी

नेपाल ज्योति, असोज ३० – हालै काठमाण्डौको बालाजुमा बसले ठक्कर दिँदा स्कुटरमा चालकपछाडि बसेकी एक महिलाको घटनास्थलमै ज्यान गएको छ ।

प्रहरीका अनुसार घटनापछि अफलाइन राइडरु फरार भएका छन् । चालक अनलाइन नभएको कारणले गर्दा उनको पहिचान गर्न प्रहरीलाई तुलनात्मक रूपमा बढी समय लाग्यो।

त्यसअघि काठमाण्डौकै माछापोखरीमा एक महिलामाथि धारिलो हतियार प्रयोग गरी भाग्ने क्रममा आरोपितले अफलाइन राइडिङ सेवा लिएको पाइएको थियो।

उपत्यकाभित्र आवतजावतका लागि धेरै मानिसलाई सजिलो बनाएको बताइने अनलाइन राइड शेअरिङले समस्या पनि थपिरहेको अधिकारीहरू बताउँछन्।

पछिल्लो समय अफलाइन राइडिङबारे गुनासो बढिरहँदा त्यसबाट समस्या पनि निम्तिएको भन्दै प्रहरीले अफलाइन सेवा नलिन प्रयोगकर्तालाई अनुरोधसमेत गरेको छ।

काठमाण्डौ उपत्यकामा खासगरी अनलाइन राइड शेअरिङ कम्पनीहरू पठाओ र इनड्राइभ बढी प्रयोगमा छन्।